सिंगापुरको सिंगा ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले स्तब्ध पार्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा पुगेको छ। टस जितेर पहिले ब्याटिंग रोजेको ओमान नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न नसकी १९.४ ओभरमा मात्र ९४ रन बनाउँदै अलआउट भएको थियो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
नेपालको सुरुवात भने केही कमजोर रहेको थियो, जहाँ दोस्रो ओभरमै दुवै ओपनरहरू पेभेलियन फर्किए। कुशल भुर्तेल २० रन र आसिफ शेख मात्र १ रनमा आउट भएपछि लोकेश बम र कप्तान रोहित पौडेलले नेपाली पारीलाई सम्हालेका थिए। लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ७ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४४ रन बनाई अविजित रहे भने कप्तान रोहित पौडेलले २० बलमा २१ रन जोड्दै टोलीलाई जितको दिशा दिए। ओमानका लागि दुवै विकेट समिर ओथमानले लिएका थिए।
त्यसअघि, पहिले ब्याटिङ गरेको ओमानका ब्याटरहरूलाई सस्तैमा समेट्न नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। ओमानका कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन र जुबेर अलि अख्तरले २२ रन जोड्नु बाहेक अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि बलिङतर्फ करण केसीले घातक बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट चट्काए। त्यस्तै कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र साहब आलमको भागमा १-१ विकेट रह्यो। अब नेपालले मलेसिया र हङकङबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


