ललितपुर, २०८२ जेठ ६ — ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा “सकारात्मक सोच तथा तनाव व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम” महालक्ष्मीस्थित डिलाइट पार्टी भेन्युमा सुरु भएको छ। कार्यक्रम दुई दिने रहनेछ, जसको दोस्रो दिन भोलि, जेठ ७ गते पनि आयोजना हुनेछ।
कार्यक्रममा ग्लोबल मोटिभेशनल स्पिकर तथा लाइफ कोच बिकाश देव योञ्जन तामाङले प्रशिक्षण दिएका छन्। उनले सहभागीहरूलाई सकारात्मक सोच, आत्म-विश्वास, र तनाव व्यवस्थापनका विविध उपायहरूबारे सशक्त प्रस्तुति दिए।

आजको सत्रमा उनले विभिन्न क्षेत्रहरूमा इतिहास बनाएका नेपाली महिलाहरूको प्रेरणादायी कथा प्रस्तुत गरेका थिए। उनले नेपालकी पहिलो नर्स लमु अमात्य, पहिलो नेपाली महिला पाइलट सोनी राणा, पहिलो नेपाली महिला पर्वतारोही पासाङ ल्हामु शेर्पा, र अन्य क्षेत्रका अग्रणी महिलाहरूको उदाहरण दिँदै सहभागीहरूलाई प्रोत्साहित गरे। उनका अनुसार यस्ता प्रेरणादायी व्यक्तित्वहरूबाट हामीले आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता सिक्न सक्छौँ।
कार्यक्रमको उद्देश्य सहभागीहरूमा मानसिक सशक्तिकरण, आत्म-प्रेरणा, र जीवनका चुनौतीहरू सहज रूपमा सामना गर्ने क्षमताको विकास गर्नु रहेको छ।यस कार्यक्रमको आयोजनामा ललितपुर महानगरपालिका वडा नं. १५ को आर्थिक तथा संस्थागत सहयोग रहेको छ।
