ललितपुर महानगरपालिका वडा नं. १५ को आर्थिक सहयोगमा ज्ञाननगर महिला समूहद्वारा सञ्चालित “७ दिने बाटेको धूप बनाउने तालिम” २०८२जेठ ५ गते बाट सुरु भएको छ। तालिम जेठ ५ देखि ११ गतेसम्म, सातदोबाटोस्थित ज्ञाननगर टोलमा सञ्चालन भइरहेको छ।
तालिमको उद्घाटन कार्यक्रममा वडा नं. १५ का अध्यक्ष श्री सुरेश बहादुर शाही र महिला सदस्य श्रीमती शशिकला सुवेदी विशेष उपस्थित रहनुभएको थियो। दुबै जनाले यस्तो सीपमूलक तालिम महिलाहरूको आत्मनिर्भरता र स्वरोजगारको दिशामा एक महत्वपूर्ण कदम भएको बताउनुभयो।
हरेक दिन बिहान ११:०० बजेदेखि सञ्चालन हुने यस तालिममा सहभागी महिलाहरूलाई धूप बनाउने सीप, गुणस्तरीय उत्पादन विधि, तथा बजार व्यवस्थापनसम्बन्धी तालिम दिइँदैछ। सहभागीहरूले तालिमबाट सिप सिकेर आफ्नै घरबाट साना उद्यम सुरु गर्ने अपेक्षा व्यक्त गरेका छन्।
कार्यक्रमको आयोजना ज्ञाननगर महिला समूह, वडा नं. १५ ले गरेको हो। ललितपुर महानगरपालिकाले महिला सशक्तीकरण र लघु उद्यम प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।


