ललितपुर वडा नं. १५ मा हरितालिका तीज तथा ऋषिपञ्चमीको अवसरमा शुभकामना तथा दर कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा हरितालिका तीज र ऋषिपञ्चमी पर्वको अवसरमा एक विशेष शुभकामना तथा दर कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रम २०८१ भदौ५ गते, बुधबारका दिन सातदोबाटोस्थित स्वीमिङ पूल परिसरमा भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप–प्रमुख श्रीमती मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थिति रहेको थियो। उहाँले तीजजस्ता सांस्कृतिक चाडहरूले महिलाहरूको आत्मबल, सामाजिक सम्बन्ध र संस्कृति जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै महिला सशक्तीकरणमा यस्ता कार्यक्रमहरूको भूमिका उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम विहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म संचालन भएको थियो। कार्यक्रममा महिलाहरूले दर खाएर पर्वको स्वागत गरे, एकअर्कासँग शुभकामना साटासाट गरे, साथै गीत–सङ्गीत र नृत्यमार्फत उत्सवको रौनक बढाएका थिए।

कार्यक्रममा वडा अध्यक्ष, महिला सदस्य , टोल सुधार समिति, विभिन्न स्थानीय महिला समूहका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकको भनाइ अनुसार, यस्ता कार्यक्रमहरूले समुदायमा सामाजिक समरसता, महिला सहभागिता, र सांस्कृतिक जगेर्नामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ