महँगीविरुद्धको आन्दोलन फ्रान्सपछि जर्मनीमा पनि फैलियो, देशैभर व्यापक प्रदर्शन

फ्रान्सबाट सुरु भएको महँगी विरोधी प्रदर्शन अब जर्मनीमा पनि फैलिएको छ। शनिबार हेलोवीन पर्वको अवसर पारेर जर्मनीका विभिन्न प्रमुख सहरहरू (बर्लिन, फ्रेनफर्ट, कोलोन र म्युनिख) मा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्।

“Gen Z has got this!”  नाम दिएको यो नयाँ युवा-नेतृत्वको आन्दोलनले जीवनयापनको उच्च लागत, विद्यालय तथा विश्वविद्यालयमा बजेटको कमी, वातावरणीय चिन्ता र अनिवार्य सैन्य सेवा फेरि सुरु गर्न सक्ने सम्भावनाको विरोध गरिरहेको छ। आयोजकहरूको दाबी अनुसार शनिबारको प्रदर्शनमा जर्मनीभर १ लाख २० हजार मानिसहरूको सहभागिता रहेको थियो।

बर्लिनमा प्रदर्शन शान्तिपूर्ण रहे पनि कोलोन र हम्बर्गमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन पानीको फोहरा  र दङ्गा प्रहरी परिचालन गर्नुपरेको थियो। त्यस्तै, फ्रेनफर्टमा आपतकालीन कर्मचारीहरूमाथि मोलोटभ ककटेल प्रहार हुनुका साथै पसलका सिसाहरू फुटाइएपछि प्रहरीले हस्तक्षेप गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

यता फ्रान्समा आन्दोलन देशव्यापी प्रदर्शन जारी छ। शनिबार फ्रान्सेली गृह मन्त्रालयको तथ्याङ्क अनुसार देशैभर ३ लाख २० हजार मानिसहरू सडकमा उत्रिएका थिए भने राजधानी पेरिसमा मात्र ७० हजार प्रदर्शनकारी सहभागी थिए। प्रदर्शनका क्रममा हिंसा र लुटपाट मच्चाउने २९६ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हेलोवीनको मौका छोपी कट्टरपन्थी समूहहरूले ‘क्रान्ति’ र ‘विद्रोह’ का नाममा हिंसा मच्चाउन सक्ने चेतावनी दिएपछि फ्रान्स र जर्मनी दुवै देशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पेरिस प्रहरीले सार्वजनिक स्थानमा अनुहार छोप्ने मास्क लगाउने वा नक्कली हतियार बोक्नेहरूलाई कडा जरिवाना र सजाय हुने चेतावनी दिएको छ।

फ्रान्सका उच्च विद्यालयका विद्यार्थीहरूबाट सुरु भएको यो आन्दोलन शिक्षकको अभाव, बिग्रँदै गएको विद्यालयको भौतिक पूर्वाधार र विश्वविद्यालय भर्ना प्रणालीको विरोधबाट सुरु भएर पछि ठूलो रूप लिएको हो। फ्रान्समा यसैबीच आगामी नोभेम्बर ५ मा महँगीविरुद्ध फेरि देशव्यापी हडतालको आह्वान गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ