देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने

नेपाल सरकारको १०० बुँदाको शासकीय सुधार कार्यसूची र नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली बमोजिम अब सेवाग्राहीले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ। नागरिकताको प्रमाणपत्र हराएमा, आगोले जलेर वा पानीले भिजेर नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कुनै मनासिव कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा नागरिकहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन्।

काठमाडौँ उपत्यकामा हुने अत्यधिक भीडभाडलाई ध्यानमा राख्दै गृह मन्त्रालयको परिपत्र अनुसार प्रदेशगत रूपमा सेवा विभाजन गरिएको छ। जस अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा पाउनेछन्। त्यसै गरी ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई नागरिकता प्रतिलिपि सेवा उपलब्ध गराइनेछ।

सेवाग्राहीको जैविक विवरण (Biometric) राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीको विवरणसँग हुबहु मिलेको अवस्थामा सहजै प्रतिलिपि जारी गरिनेछ। तर, अभिलेख नमिलेको, साविकको विवरण (नाम, थर, जन्ममिति आदि) सच्याएर प्रतिलिपि लिनुपर्ने वा प्रथम दृष्टिमा नै शंकास्पद देखिएका आवेदकहरूले भने नागरिकता प्राप्त गरेकै साबिकको जिल्ला प्रशासन कार्यालयमा पुग्नुपर्नेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ