भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र पत्नी सिलिया विरुद्ध अमेरिकी नागरिकलाई यातना दिएको नयाँ अभियोग दर्ता

अमेरिकाको एक सङ्घीय अदालतमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरुद्ध नयाँ तथा गम्भीर मुद्दा दर्ता गरिएको छ। न्युयोर्कको म्यानहटनस्थित अदालतमा दर्ता भएको संशोधित अभियोगपत्रमा उनीहरूमाथि अमेरिकी नागरिकहरू तथा आफ्ना राजनीतिक विरोधीहरूलाई चरम यातना दिएको र यातना दिने संयन्त्र सञ्चालन गरेको आरोप लगाइएको छ।

अभियोगपत्र अनुसार, मादुरो र उनकी पत्नीले सरकारी निकायहरू (विशेष गरी सैन्य गुप्तचर संस्था) मार्फत हिरासतमा रहेका व्यक्तिहरूलाई कुटपिट गर्ने, बिजुलीको झटका दिने, निस्सासिन बाध्य पार्ने र यौन हिंसा जस्ता यातना दिन निर्देशन दिएका थिए। अमेरिकी अभियोजकहरूका अनुसार मादुरोले यातनाका तरिकाहरूलाई स्वीकृति दिने, भिडियो मार्फत जबरजस्ती गराइएका बयानहरू हेर्ने र बन्दीहरूका परिवारलाई धम्क्याउने काम समेत गरेका थिए।

यसअघि सन् २०२६ को जनवरीमा अमेरिकी सैन्य अप्रेसनका क्रममा काराकासबाट पक्राउ परेका मादुरो र फ्लोरेस अहिले न्युयोर्कको हिरासतमा रहेका छन्। उनीहरूमाथि सुरुमा नार्को-टेररिजम (लागुऔषध तस्करी) र हतियार सम्बन्धी मुद्दा चलाइएको थियो। नयाँ थपिएको यातना सम्बन्धी षड्यन्त्रको मुद्दाले उनीहरूमाथिको कानुनी संकटलाई अझ बढाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ