गणेश यादवको परिवारलाई मधेश सरकारले घर बनाइदिने

मधेश प्रदेश सरकारले सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई दुई कोठे भवन (घर) निर्माण गरिदिने निर्णय गरेको छ। प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ (भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत) मार्फत उक्त घर निर्माण गरिदिन लागिएको हो।

सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गत १४ साउनमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। घटनापछि मधेश प्रदेशका शिक्षामन्त्री मनोजकुमार सिंहले मृतकको घरमै पुगेर परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी लिएका थिए। सोही विषयमा प्रदेश सरकारको बैठकमा छलफल भएपछि शुक्रबार साँझ प्रदेश सरकार र मृतकका परिवारबीच आवास निर्माणसम्बन्धी औपचारिक सहमति भएको हो।

उक्त सहमतिमा मृतकका बुवा रामवृक्ष यादव, सिरहा भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर रामनारायण यादव र औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव लगायतको उपस्थिति रहेको थियो। मन्त्री सिंहका अनुसार प्रदेश सरकारले गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरिसकेको छ र मृतकको परिवारले जग्गा उपलब्ध गराउनासाथ घर निर्माणको काम तुरुन्तै अघि बढाइनेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ