क्यूबामा राष्ट्रिय विद्युत् ग्रिड प्रणाली पुनः ठप्प (कोल्याप्स) भएपछि सम्पूर्ण देश अन्धकारमय बनेको छ। सरकारी स्वामित्वको विद्युत् प्राधिकरण युनियन इलेक्ट्रिका अनुसार राष्ट्रिय विद्युत् प्रणालीमा आएको प्राविधिक खराबी र पूर्ण विच्छेदका कारण राजधानी हवानासहित देशभर बिजुली आपूर्ति बन्द भएको छ।
क्यूबामा इन्धनको चरम अभाव र पुराना विद्युत् पूर्वाधारका कारण विद्युत् संकट निरन्तर गहिरिँदै गएको छ। पछिल्ला महिनाहरूमा नागरिकहरूले दैनिक घण्टौंसम्म लोडसेडिङको सामना गर्नुपरिरहेको छ। गर्मीको समयमा बिजुली नहुँदा दैनिक जनजीवन, खानेपानी आपूर्ति, इन्टरनेट तथा स्वास्थ्य सेवाहरू नराम्ररी प्रभावित भएका छन्।
सरकारले विद्युत् पुनःसञ्चालनका लागि आपत्कालीन टोलीहरू परिचालन गरी अनुसन्धान र मर्मत कार्य सुरु गरिएको जनाएको छ। यद्यपि, इन्धन अभावका कारण विद्युत् सेवा पूर्ण रूपमा कहिलेसम्म सामान्य हुन्छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।



