अमेरिकी गुप्तचर निकायका पछिल्ला मूल्याङ्कनहरू अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही वर्षभित्र नाटो सम्बद्ध कुनै मित्रराष्ट्रमाथि सीमित आक्रमण गरी नाटोको दृढता र एकताको परीक्षण गर्न सक्ने सम्भावना औंल्याइएको छ।
रुसले गर्न सक्ने सम्भावित कदमहरूमा साइबर आक्रमण, गुप्त हाइब्रिड अपरेसन, वा नाटोको पूर्वी सिमाना (विशेष गरी पोल्यान्ड वा बाल्टिक क्षेत्र) मा सानातिना सैन्य घुसपैठ समावेश छन्। यस्ता कार्यहरू नाटोको सामूहिक रक्षासम्बन्धी ‘आर्टिकल ५’ आकर्षित नहुने वा स्पष्ट प्रतिक्रिया दिन गाह्रो हुने गरी हुन सक्ने जनाइएको छ।
युक्रेन युद्धमा अपेक्षाकृत सफलता नपाएको र स्वदेशमा जित देखाउनुपर्ने दबाब बढेकाले पुटिनले जोखिम मोल्ने सम्भावना बढेको अमेरिकी अधिकारीहरूको ठहर छ। यदि युक्रेन युद्धबाट सम्मानजनक निकास नभएमा वा नाटोलाई विभाजन गर्न सकेमा उनले यसलाई आफ्नो जितका रूपमा प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ।
नाटो क्षेत्रभित्र रुसी ड्रोन तथा मिसाइलहरू पस्ने र जर्मनीको एक विमानस्थलमा विस्फोटक पदार्थ बोकेको रुसी ड्रोन भेटिने जस्ता हालैका घटनाहरूलाई नाटोको संयम र प्रतिक्रिया क्षमता जाँच्ने रुसी प्रयासका रूपमा लिइएको छ।
नाटो प्रवक्ताले सूचनाबारे टिप्पणी नगरे पनि नाटो कुनै पनि अवस्थाका लागि सतर्क र तयार रहेको बताएका छन्। अर्कोतर्फ, इरान युद्ध र युक्रेन सहयोगका कारण अमेरिकी हतियार भण्डार (जस्तै पेट्रियट र थाड मिसाइलहरू) मा आएको कमीका बीच यो गुप्तचर रिपोर्ट सार्वजनिक भएको हो।



